काठमाण्डौं । लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मा रिहा भएकी छन्। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो। आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मा चैत १५ गते पक्राउ परेकी थिइन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो। डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो।
ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो।