काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन प्रज्ञा भवन कमलादीमा हुँदैछ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी ९एडी० लामाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । यसैगरी पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् ।प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।
अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ । नेपाल निर्माण व्यवसायी महासंघको जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् । हिजो उम्मेदवारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेदवारी परेको थियो । निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएर खड्का चुनावको तयारीमा जुटेका थिए ।
