काठमाण्डौं । गृहमन्त्री सुधन गुरुङले चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पमाला चढाउनुकासाथै कर्तव्यपालनाको क्रममा प्राणोत्सर्ग गर्नुहुने अमर सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा माननीय गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा भए गरेका कामकावाहीको बारेमा जानकारी लिनुकासाथै केन्द्रिय परिचालन कक्ष, अनुगमन तथा गुनासो व्यवस्थापन इकाई, तथा विपद् उद्धार सामाग्रीहरुको समेत अवलोकन गर्नुभएको थियो ।
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद् शुरु हुनु आगाडी नै तयारी हालतमा रहन निर्देशन दिनुभएको छ । उहाँले अपाद् विपद् र कोभिड –१९ को समयमा सशस्त्र प्रहरी बल नेपाल सगँ हातेमालो गरी नागरिकको जिउधनको सुरक्षा गर्नको लागि आफु समेत अग्रसर रहेको स्मरण गर्नुहुदै आगामि दिनहरुमा पनि आम नागरिकहरुले आपद् विपद्को समयमा सशस्त्र प्रहरी बल नेपाल छ भन्ने महशुस हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
गुरुङले विपद्को समयमा समेत सशस्त्र प्रहरी बल नेपाल एउटा अब्बल सुरक्षा निकाएको रुपमा परिचालित भएको वताउनुहुँदै विपद्मा परेका नागरिकहरुको तत्काल उद्धार कार्यको लागि २ वटा हेलिकप्टर तयारी हालतमा रहने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले ड्युटिको समयमा जुनसुकै ठाउँमा परिचालन हुदाँ नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकी सबैमा नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्नुहुदै आपद् विपद्मा परेका नागरिक हरुको उद्धारमा खटिदाँ नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको परिचालन
गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अगाडि वढ्ने बताउनुहुदै त्यस्ता कार्यमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरु संलग्न नरहन आग्रह गर्नुभयो । उहाँले सीमा क्षेत्रमा राखिएको नेपालको झण्डालाई कपडाको रुपमा मात्र नलिई देशको अस्थित्व बोकेको पहिचान भएको बताउनुहुदै बोर्डर क्षेत्रमा फहराएको नेपाली झण्डा च्यातिएको अवस्थामा देखियो भने त्यस ठाउँमा खटिएको कर्मचारीलाई सिधै आफुले प्रतिक्रिया राख्ने बताउनुभयो ।
संगठन सुधारका प्रयास
गृहमन्त्री गुरुङले कार्यक्षेत्रमा परिचालित हुदाँ आईपरेका समस्या समाधनको लागि सशस्त्र प्रहरी बल नेपालमा कानूनी व्यवस्था समेत स्पष्ट नभएको हुदाँ त्यसको लागि मन्त्रालय सकारात्मक रहेको बताउनुहुदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरु सगँसगै बसि काम गरेको हुदाँ सशस्त्र प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्न आफु हरदम तयार रहेका बताउनुभयो ।
सिमित श्रोतसाधनको वावजुद पनि देश र नागरिकको जिउधन सुरक्षाको लागि आफ्नो ज्यानको प्रवाह नगरि खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक धन्यवाद दिनुहुदै उहाँले आफ्नो घर परिवार चलाउन समेत कठिनाई परेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गर्न नेपाल सरकार लगायत गृहमन्त्रालय सकारात्मक रहेको बताउनुुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु १३र१४ बर्षसम्म एउटै पदमा रहि कार्यगर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताउनुहुँदै संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचानहुदाँ आई परेका समस्या समाधानका लागि आवश्यक निती तथा कानुनी व्यवस्था लिखित रुपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री गुरुङले देश बासि नागरिक र सुरक्षाकर्मीको लागि केही गर्छु भन्ने आसा र भरोसा बोकि आफु मन्त्रालय आएको बताउनुहुदै सशस्त्र प्रहरी बल नेपालका जुनसुकै दर्जाका कर्मचारीहरुले सरुवा, बढुवा अगायतम समय आयपछि सबैलाई पारदर्सि तरिकाले अवसर दिने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अव व्यारेकमा होईन फिल्डमा हुनुपर्ने बताउनुहुदैँ विपद् व्यवस्थापनको लागि भरपुर मेहनत गर्नुपर्ने समेत बताउनु भयो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निरीक्षण भ्रमणमा आउनु भएका माननीय गृहमन्त्री सुधन गुरुङले दिनुभएको नीति तथा निर्देशनले संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च रहने बताउनुहुँदै कार्यक्षेत्रमा खटिदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताउनुभयो । उहाँले अधिकार विनाको खटाईले कार्यक्षेत्रमा कुनैपनि हालतमा परिणाम दिन नसक्ने कुरा बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिबृद्धि गर्न तथा समयानुकुल सुदृढीकरणको लागि २०५८ को विशेष नियमावलीहरुलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका विषयमा स्पष्ट कानूनी व्यवस्थाको प्रस्ताव समेत पेश गरिएको बताउनुभयो ।
महानिरीक्षक अर्यालले विशेष गरी तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरुले तलव सुविधाबाट आफ्नो जीविका आर्जन गर्न समेत गाह्रो परेकोले उनीहरुको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गर्दिन सक्यो भने जागीर छोडी विदेश गई आर्थिक सुधार गर्छु भन्ने भावना नलिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पेन्सन पकाई घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरु पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरुको मनोवल उच्च रहने बताउनुहुँदै जागिर होईन सेवा हो भन्ने भावनाले काम गर्र्ने विश्वास व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले नागरिकहरुमा आई परेका विभिन्न चुनौतीहरुको अवस्थामा समेत सशस्त्र प्रहरी साथमा छ भन्ने भावनाले काम गरिरहेको बताउनुहुँदै कार्यक्षेत्रमा खटिदा स्पष्ट नीति र निर्देशनको व्यवस्था नभएको हुँदा परिणममुखी कार्य गर्न समस्या परेको बताउनुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगरलगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।