काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ( प्रचण्ड ) को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा केही नेताको घरमा रकम भेटिएको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानलाई पूर्णता दिँदै थपमाथि पनि प्रहरी अनुसन्धान अगाडि बढ्न लागेको हो ।
आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सोही अनुसन्धानका सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारका सदस्यसहित उनको सचिवालयका केही व्यक्तिमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले बतायो ।
जेनजी आन्दोलनकै क्रममा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा रकम फेला परेको थियो । आगोले नष्ट हुन बाँकी उक्त रकमको मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालको ललितपुर महानगरपालिका– २६ सुनाकोठीस्थित घरमा आगलागी हुँदा नगद भेटिएको थियो । यससँगै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जनाएको छ ।
