काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण भएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सार्वजनिक भएको प्रतिवेदनमा प्रारम्भिक प्रतिक्रिया भन्दै भदौ २३ को विषयमा मेहनत गरे पनि भदौ २४ को विषय धेरै छुटेको बताए ।
‘यो प्रारम्भिक प्रतिक्रिया हो । प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण देखियो । भदौ २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएको छ । यो प्रतिवेदन थप अध्ययन गर्छौ, कानुनविदहरुसँग छलफल गर्छौ’, चालिसेले भने ।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले सबै प्रतिवेदनहरुको विस्तृत अध्ययन गरेपछि थप धारणा सार्वजनिक गरिने बताए ।
