काठमाडौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको आयू लगभग सकिएको छ । तीन दिनपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई सत्ता हस्तान्तरण गर्दैछिन् । मध्यावधि निर्वाचन गराउने प्रयोजनका लागि गठिन सरकार आफ्नो जिम्मेवारी पूरा गरेर निवृत्त हुन लागेको हो । संविधानतः निर्वाचनपछि नयाँ सरकार गठन गर्न बहालबाला प्रधानमन्त्रीले राजीनामा दिइराख्नु पर्दैन । चैत १३ मा नयाँ प्रधानमन्त्रीका रुपमा बालेनले सपथग्रहण गरेसँगै कार्की स्वतः निवर्तमान बन्नेछिन् ।
सरकारको कार्यकाल अब दुई दिनमात्र बाँकी छँदा अन्तिम मन्त्रिपरिषदको बैठक कहिले बस्छ भन्ने जिज्ञासा कतिपयलाई हुन सक्छ । तर, प्रधानमन्त्री कार्कीले अब मन्त्रिपरिषदको बैठक बोलाउने तयारी अहिलेसम्म गरेकी छैनन् । अघिल्लो मन्त्रिपरिषद बैठकमा नै उनले यो अन्तिम हुन सक्ने जनाउ मन्त्रीहरुलाई गराएकी थिइन् । वन तथा वातावरणमन्त्री माधव चौलागाईंले मन्त्रिपरिषदको बैठक अब सम्भवतः नबस्ने बताए ।
‘चैत १ गते बसेको वैठकमा प्रधानमन्त्रीज्यूले यही नै अन्तिम हुनसक्छ भन्नुभएको थियो । हामी सामूहिक फोटो खिचाएर छुट्टिएका थियौं,’ उनले भने । त्यसबेला खिचिएको फोटो सार्वजनिक भने गरिएको छैन । अन्तिम दिन मात्रै सार्वजनिक गर्ने निर्देशन रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले अब कुनै आकस्मिक परिस्थिति आइपरेको खण्डमा बाहेक मन्त्रिपरिषद बैठक नबस्ने बताए ।
उनले भने, ‘चैत १ गतेको बैठक नै अन्तिम हुन्छ होला । कुनै आकस्मिक परिस्थिति उत्पन्न भएको खण्डमा बेग्लै कुरा, नत्र अर्को बैठक बस्ने कुरा छैन ।’ चैत १ गतेको बैठकले जेनजी आन्दोलनको छानविनका लागि गठित समितिले बनाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय लिएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्ने कि नगर्ने भन्नेमा सरकार अझै अन्योलग्रस्त छ ।
