काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई कतारमा रहेका साथीहरूले तुरुन्तै नआउन सुझाव दिन्छन्। नगई सुख छैन, नत्र जागिर गुम्ने डर छ। त्यसैले युद्धको परवाह नगरी उनी फेरि कतार यात्रा फेरि शुरु गर्दै छन्। ‘साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ’, उनी भन्छन्।उनी घर आएको एक हप्तामै अमेरिका–इजराइल र इरानबीच युद्ध शुरु भएको थियो । शुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनले सुनाए। होटलमा सेफको जागरि गरेर उनी मासिक दुई लाख आम्दानी गर्छन्। यो सबै रकम उनले घर पठाउँछन्।
गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए। यही मार्च २५ तारिखमा कतार प्रस्तान गर्न लागेका उनले भने, ‘जे त होला भनेर जाँदैछु। यहाँ बसेर के गर्नु आम्दानी छैन।’ युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाको बाध्यता छन् भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो। फर्किने अवस्था नरहेको उनकी श्रीमती रूमा लामाले बताइन्।
छोराछोरीसहित काठमाडौँमा बसेकी काभ्रेपलाञ्चोककी रुमाले श्रीमानलाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउँछिन्। ‘घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छरु बाध्यताले त्यही बस्नुभएको छ’, उनी भन्छिन्। रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उनी खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गर्दै गरेको सुनाइन्।’ यता साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेसरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुशी भए। श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो की भन्ने चिन्ताले सताएको बताए। ‘उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर’, उनले भने।
यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् । कुबेतको एक क्याफेमा वरिष्टाको कामदार रहेका विमल ९नाम परिवर्तन० राईले मिलेसम्म स्वदेश फर्किन चाहन्छन्। अहिले सबै सामान्य जस्तो देखिन्छ तर, एरपोर्टमा, तेल खानी तिर बम हान्दा आफूलाई जोखिमपूर्ण महशुस भएको बताउँछन्। ‘फर्किन पाए भने जागिरै छोडेर आउन तयार छु’, उनी भन्छन्, ‘कम्पनीहरू बन्द हुँदै छन्, आर्थिक संकट देखिन थालेको छ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका ९पश्चिम एसिया० युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेविया, युएइ, कतार, कुबेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो। वैदेशिक रोजगार विभागमा चैत ३ गते रोकिएको श्रम स्वीकृति खुला भएपछि वैदेशीक रोजगारमा पुनःजाने श्रमिकको चाप बढेको छ । विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खिलराज राईले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दैनिक हजारदेखि एक हजार १०० सम्म रहेको जानकारी दिए।
वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बस्नु अहिले युद्ध क्षेत्र ग्रस्त कामदारहरूको चुनौती छ । उनका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षा सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ । श्रमिकको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको माग अनुसार परराष्ट्र मन्त्रालयले चैत ३ सिफारिस गरे बमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनःजान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिएको छ । घर फर्किन चाहनेसँगै श्रम गर्न पुनःविदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उनले सुनाए। रासस
