काठमाडौँ । संसद्मा प्रतिनिधित्व भएका राजनीतिक दलहरू संसदीय दलको नेता चयन गर्ने गृहकार्यमा जुटेका छन् । रास्वपाले भावी प्रधानमन्त्री बालेन्द्र शाह, नेकपाले संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई दलको नेता बनाउने तयारी छ । कांग्रेसमा युवालाई दलको नेता बनाउनुपर्ने आवाज उठिरहेको छ । एमालेले वरिष्ठतालाई प्राथमिकता दिने योजना बनाएको छ । राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाएको छ ।
प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत रहेको रास्वपाले नयाँ सरकार गठन गर्दै छ । संविधानको धारा ७६ ९१० मा राष्ट्रपतिले बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने व्यवस्था छ । १३ चैतमा नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी छ । त्यसैले रास्वपाले त्यसअघि नै वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्नेछ । प्रतिनिधिसभा सदस्यहरूको शपथ भने १२ चैतमा हुँदै छ ।
रास्वपाको विधानमा पार्टी सदस्यसमेतको मतदानबाट संसदीय दलको नेता चयन गर्ने प्रावधान छ । यसलाई संशोधन गर्ने कि संक्रमणकालीन अवस्थाका रूप लिएर संशोधनबिनै संसदीय दलको नेता छान्ने भन्नेमा छलफल भइरहेको नेताहरूले जनाएका छन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह,उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार भएको छलफलमै निर्वाचित सांसदहरूको सहमतिमा दलको नेता चयन गर्ने समझदारी बनेको छ ।
बालेन्द्र शाह र रास्वपाबीच गत १३ पुसमा भएको सहमतिमै प्रतिनिधिसभा निर्वाचनपछि शाह संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख छ । २०७९ मा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउँदा भने विधान संशोधन गरिएको थिएन । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले संसदीय दलको नेता चयन छिटै हुने बताइन् । ‘संसदीय दलको नेता, मुख्य सचेतक र सचेतक चयनबारे शीर्ष तहमा छलफल भइसकेको छ, त्यसमा पनि दलको नेता छिटो चयन गर्नुपर्छ भन्नेछ,’ उनले भनिन्, ‘सांसदहरूको शपथलगत्तै दलको नेता चयन गर्ने भनिएको छ ।’ रास्वपाले १२ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १ सय ८२ सिट जितेको छ । संसदीय दलको नेता चयन भएपछि रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नेछ । दोस्रो ठूलो दल कांग्रेसको संसदीय दल नेतामा अर्जुननरसिंह केसीले सार्वजनिक रूपमा दाबी गरेका छन् । कांग्रेसका एक नेताका अनुसार भीष्मराज आङदम्बेका विषयमा पनि छलफल भएको छ । उनी कांग्रेसको अघिल्लो केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री थिए । केसी र आङदम्बे समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् ।
कांग्रेसमा निरन्तर महत्त्वपूर्ण जिम्मेवारी लिँदै आएका केसीलाई दलको नेता बनाउन नहुने आवाज उठिरहेको छ । कतिपय नेताले प्रत्यक्षबाट चुनाव जितेका युवलाई दलको नेता र प्रमुख सचेतक बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सभापति गगन थापाको राजीनामाको विषय टुंगिएपछि संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक चयनबारे छलफल हुने जानकारी दिए । ‘संसदीय भूमिकामा अनुभवी र युवालाई नेतृत्व दिनुपर्ने सुझाव आइरहेको छ, उनले भने ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका २५ जनामध्ये उपाध्यक्ष रामबहादुर थापा सबभन्दा वरिष्ठ नेता हुन् । उपाध्यक्ष समेत रहेका थापा संसदीय दलको नेता हुने सम्भावना बढी रहेको नेताहरूको भनाइ छ । संसदीय दलको नेतामा सचिव पद्मा अर्याल र सुहाङ नेम्वाङको पनि चर्चा छ । थापा र अर्याल समानुपातिकबाट सांसद भएका हुन् । नेम्वाङ भने इलाम–२ बाट निर्वाचित भएका हुन् ।
सचिव अर्यालले सांसदहरूको शपथपछि संसदीय दलको नेता टुंगो लगाइने बताइन् । ‘वरिष्ठलाई दलको नेता बनाउने कि युवामा जाने भन्नेमा चर्चा छ,’ उनले भनिन्, ‘दलको बैठक बसेपछि मात्र यसमा टुंगो लाग्छ ।’ एमालेका अर्का पदाधिकारीका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई नै संसदीय दलको नेता बनाउन चाहेका छन् । प्रमुख सचेतकमा राजेन्द्र राई र गणेश ठकुन्नामध्ये एक हुने सम्भावना रहेको पनि उनले जानकारी दिए ।
प्रतिनिधिसभामा १७ सिट रहेको नेपाली कम्युनिस्ट पार्टीमा भने संयोजक दाहाल नै संसदीय दलको नेता बन्ने भएका छन् । उनी विघटित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता थिए । संसदीय दलको नेतृत्व नयाँलाई दिँदा राम्रो हुने सुझाव आए पनि प्रतिपक्षका रूपमा बलियो भूमिका निभाउनुपर्ने तर्क गर्दै दाहाललाई नै नेता बनाइने एक नेताले जानकारी दिए । उनी यसपालि चुनाव जित्ने एक्लो पूर्वप्रधानमन्त्री हुन् । नेकपामा चुनाव जित्ने वरिष्ठ नेताहरूमा वर्षमान पुन र मात्रिका यादव छन् । तर उनीहरू दलको नेता दाबी गर्ने पक्षमा छैनन् । नेकपाले प्रमुख सचेतकमा भने युवालाई चयन गर्ने योजना बनाएको छ । ‘संसद्मा सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्नेछ । त्यहीअनुसार पार्टीले संसदीय दलको नेता छान्छ,’ नेता पुनले भने, ‘अहिले यसमा खास छलफल भएको छैन ।’
यस पटक संसद्मा उदाएको श्रम संस्कृति पार्टीको संसदीय दलका नेता अध्यक्ष हर्कराज राई ( साम्पाङ ) हुनेछन् । श्रम संस्कृति पार्टीका सात सांसद छन् । श्रम संस्कृतिका प्रवक्ता सत्य घलेले अध्यक्ष साम्पाङ नै संसदीय दलको नेता हुने, प्रमुख सचेतक, सचेतकका विषयमा निर्णय भइनसकेको जानकारी दिए । साम्पाङले संसद्मा खरो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइसकेका छन् ।
संसद्मा पाँच सिट रहेको राप्रपाले ज्ञानबहादुर ( ज्ञानेन्द्र ) शाहीलाई दलको नेता र खुस्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरिसकेको छ ।
