काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीतिरकार्ययोजना बैठकका मूल एजेण्डा रहेको बताइएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको कमजोर नतिजामा आफूलाई जिम्मेवार ठान्दै सभापति थापाले राजीनामा दिएका छन् । यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । आजको बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति तथा कार्ययोजना बैठकका मूल एजेण्डा रहेको दुलालले बताएका छन्। बुधबार सभापति थापाले पदबाट राजीनामा दिएका थिए।
उनी गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। सामाजिक सञ्जाल एक्समा बिहीबार शर्माले आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृतको प्रस्ताव पनि पेश हुने बताए ।
सभापति थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन्छु भन्नु सकरात्मक भए पनि सभापतिको प्रधान दायित्व वर्तमान स्थितिलाई सम्हाल्नु रहेको शर्माको भनाइ छ । नैतिक जिम्मा लिन्छु भन्नु सकरात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ’, शर्माले लेखेका छन् ।
