काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ । आयोगले बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर निर्वाचनसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको हो । राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको आयोगले त्यो प्रतिवेदनको कपी नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई पनि पठाएको छ । निर्वाचनको नतिजा राजपत्रमा शुक्रबार प्रकाशित गर्ने निश्चित भइसकेको आयोगले जनाएको छ ।
यो सँगै राजनीतिक दलहरूले नयाँ सरकार गठनका लागि प्रयास गर्ने र संसद् सचिवालयले शपथलगायतका काम गर्ने बाटो खुलेको छ । सङ्घीय संसद् सचिवालयले चैत १२ गते २ बजे नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिसकेको जानकारी प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सहज बहुमत ९२ सिट कम दुई तिहाइ० ल्याएको छ । १८२ सिट जितेको रास्वपाले एकल सरकार बनाउने तयारी गर्नेछ । पार्टीले निर्वाचनका क्रममा नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मतदातासामु गएको थियो ।
संविधानको धारा ७६ को उपधारा ( १ ) बमोजिम अब रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति यसैलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसकेकाले अब त्यो काम गर्नका लागि शपथ कुरिरहनु नपर्ने जानकारहरू बताउँछन् ।
