काठमाडौँ । अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला इरानले मध्यपूर्वी देशका उर्जा संरचनाहरुलाई लक्षित गर्दै आक्रमण तीब्र पारेको छ । रोयटर्सका अनुसार कतार र साउदी अरेबियाका महत्वपूर्ण ऊर्जा पूर्वाधारहरूमा आक्रमण भएको पुष्टि भएको छ ।विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डार मानिने इरानको ‘साउथ पार्स’मा इजरायलले हमला गरेपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा जवाफी हमला गरेको छ। यसबाट कतारलाई ठूलो नोक्सान पुगेको छ।
कतारको सरकारी पेट्रोलियम कम्पनीले एक विज्ञप्ति जारी गर्दै बुधबारको मिसाइल हमलामा मुख्य ग्यास प्लान्टमा आगो लागेको र यसबाट धेरै नोक्सान भएको उल्लेख गरेको छ। प्रतिक्रियामा कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन समेत गरेको छ। यसैबीच कतारले आफ्नो प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफानमा भएको इरानी आक्रमणबाट उल्लेखनीय क्षति पुगेको जनाएको छ ।
कतारी अधिकारीहरूका अनुसार आक्रमणपछि उक्त ऊर्जा पूर्वाधारमा भौतिक क्षति पुगेको छ, जसले उत्पादन र आपूर्ति प्रणालीमा असर पानछ । रास लाफान विश्वकै महत्वपूर्ण तरल प्राकृतिक ग्यास केन्द्रमध्ये एक मानिन्छ । यस घटनापछि कतारले कडा कूटनीतिक प्रतिक्रिया जनाउँदै इरानी दूतावासमा कार्यरत सैन्य र सुरक्षा सम्बन्धी अधिकारीहरूलाई ‘पर्सोना नन ग्राटा’ ९अवाञ्छित व्यक्ति० घोषणा गरेको छ । यसको अर्थ उनीहरूले तत्काल कतार छाड्नुपर्ने हुन्छ ।
साउथ पार्समा हमलापछि इरानले खाडी क्षेत्रका अन्य ऊर्जा केन्द्रमा थप विनाशकारी हमला गर्ने धम्की दिँदै आफ्नो देशको ऊर्जा क्षेत्रमा गरिने कुनै पनि हमलाको कडा जवाफ दिने चेतावनी दिएको छ। रोयटर्सका अनुसार इरानको रिभोलुसनरी गार्ड्सले इरानी मिडियामा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तिमीले इस्लामिक गणराज्यको ऊर्जा संरचनामा हमला गरेर ठूलो गल्ती गरेका छौ भन्ने चेतावनी फेरि दिन चाहन्छौँ।’ उसले अगाडि भनेको छ, ‘इस्लामिक गणराज्यको ऊर्जा संरचनामाथि हमला गरेर तिमीहरूले ठूलो गल्ती गरेका छौ। यदि यसलाई दोहोर्याइयो भने तिम्रा सहयोगीका ऊर्जा संरचना पूर्णरूपमा नष्ट नगरेसम्म हमला रोकिने छैन।’
