काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ ।
तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् । केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।
पार्टी स्रोतका अनुसार यो बैठकमा सभापति थापाको राजीनामाको बारेमै बढी केन्द्रित हुनेछ । बैठकमा उपसभापति शर्माले व्यक्तिको कारण पराजय भएको नभई विशेष महाधिवेशनबाट आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनुलाई कारण मान्दै बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्ने तयारी छ ।
नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् ।