खोटाङ । खोटाङको बेलाबेसीमा बुधबार बिहान भएको हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले दुईवटा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी गराएको छ। काठमाडौंबाट खोटाङतर्फ उडेको ९एन(एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११. ५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार हेलिकप्टरमा चालक दलका एक सदस्यसहित कुल ६ जना सवार थिए। दुर्घटनामा परी ७४ वर्षीय कतिबहादुर राई घाइते भएका छन्।
उनको खुट्टा र आँखामा चोट लागेको कम्पनीले बताएको छ। राईलाई तत्कालै एयरलिफ्ट गरी काठमाडौं ल्याइएको र अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बाँकी ५ जना भने सकुशल रहेका छन्। हेलिकप्टर ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए। थापासँग ७ वर्षको कार्यअनुभव र कुल ११०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले बताएको छ। उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले नै केही खुलाएको छैन।
एयर डाइनेस्टीका प्रवक्ता एवं वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको उल्लेख छ। उनले भने, ‘हाम्रो प्राथमिकता घाइतेको उपचार र परिवारलाई सहयोग गर्नु हो। चिकित्सक र तालिमप्राप्त कर्मचारीहरू अहिले घाइतेको सहयोगका लागि खटिएका छन्।’
उनले अगाडि भनेका छन्, ‘हामी घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। थप विवरणहरू प्राप्त हुनासाथ सञ्चारमाध्यमलाई जानकारी गराउनेछौं।’ कम्पनीले घाइते यात्रु र उनीहरूको परिवारको गोपनीयताको सम्मान गरिदिन समेत सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ। काठमाडौंबाट उडेको हेलिकप्टर अवतरणकै क्रममा दुर्घटनामा परेको थियो।
