काठमाण्डौं । मध्यपूर्वमा बढ्दै गएको तनावका कारण नेपाली हवाई क्षेत्रले आर्थिक भार खेप्नु परेको छ। इरान लगायतका देशहरूको हवाई क्षेत्रमा आएको अवरोधका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले अहिले दैनिक करिब २ करोड १० लाख रूपैयाँ बराबरको आम्दानी गुमाइरहेका प्राधिकरणले जनाएको छ। यो घाटा हवाई इन्धन बिक्री बाहेकको हो, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।
जहाज अवतरण, ग्राउण्ड ह्याण्डलिङ शुल्क लगायतबाट हुने यस्तो आम्दानी घटेको हो। सूचना अधिकारी भुलका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्यामा उल्लेख्य कमी आएको छ। इरान–इसराइल द्वन्द्वका कारण मध्यपूर्वी क्षेत्रमा तनाव बढ्दा दैनिक औसतमा १६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भइरहेका छन्। उडान रद्द हुँदा दैनिक करिब पाँच हजार यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताइएको छ।
सम्भावित दुर्घटनाबाट बच्न कतिपय विमानहरूले आफ्नो साविकको बाटो परिवर्तन गरी लामो दूरी तय गरिरहेका छन्। उनका अनुसार काठमाडौंबाट पूर्वी दिशामा पर्ने हङकङ, मलेसिया, बंगलादेश, थाइल्याण्ड र चीनतर्फका उडानहरूको चाप बढेको छ। उडान रद्द भएका वा समय परिवर्तन भएका यात्रुहरूको टिकट रद्द गर्दा, पैसा फिर्ता गर्दा वा अर्को मितिका लागि समय मिलाउँदा कुनै पनि थप दस्तुर नलिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको उनले बताए।
हाल यहाँबाट ३० कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। तीमध्ये नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्स गरी तीन नेपाली कम्पनी हुन्। निगमले मध्यपूर्वस्थित कतार ( दोहा) , युएई ( दुबई) र साउदी अरेबिया ( दमाम ) मा उडान गर्छ। इसराइल–इरान द्वन्द्वपछि यी क्षेत्रमा उडान प्रभावित भएको निगमका प्राविधिक तर्फका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए। निगमले सातामा दुबईमा ६ वटा, दमाममा २ वटा र दोहामा पाँच वटा उडान गर्दै आएको थियो। द्वन्द्व सुरू भएपछि ती उडान प्रभावित भएको छ,पुनले भने।
उनका अनुसार द्वन्द्व सुरू भएयता दुबईमा दुई वटा विशेष ( स्पेशल) उडान भने गरिएको थियो। हामीले मार्च ११ र १३ मा दुबईका लागि दुई उडान गर्यौं, उनले भने। ती उडानमार्फत युद्धका कारण अड्किएका यात्रुलाई ल्याउने–लग्ने काम गरिएको हो। तर दोहा र दमाममा भने द्वन्द्वपछि कुनै पनि उडान हुन सकेको छैन।ती स्थानका विमानस्थलबाट सञ्चालनको अनुमति नआएको र सुरक्षा अवस्था स्पष्ट नभएकाले उडान रोकिएको उनले जानकारी दिए।
यद्यपि अन्य गन्तव्यतर्फ भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको छ। निगमले चीन ९गोङ्झाओ र हङकङ०, मलेसिया ९क्वालालम्पुर०, भारत ९दिल्ली, मुम्बई, बैङ्गलुरू०, थाइल्याण्ड ९बैंकक० र जापान ९नारिता० मा पनि सेवा दिँदै आएको छ। मध्यपूर्वमा उडान प्रभावित हुँदा हिमालय एयरलाइन्सको कुल आम्दानी ७० प्रतिशतले घटेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार कम्पनीले मध्यपूर्वका युएई ९दुबई० कतार ९दोहा, हमाद०, साउदी अरेबिया ९दमाम, किङ फहाद, किङ फालिद० र कुवेतमा दैनिक सेवा दिँदै आएको थियो।
युद्ध सुरू भएपछि दुबईमा मार्च ८ देखि १४ सम्म विशेष उडान गरिएको थियो। केही दिनअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण भएपछि त्यहाँ पनि उडान रोकिएको छ। कम्पनीले मध्यपूर्व बाहेक बंगलादेश ( हजरत साहजलाल) , मलेसिया ( क्वालालम्पुर) र चीन ( चोङछिङ जियाङबेइ, ल्हासा गोङगार ) मा पनि सेवा दिँदै आएको छ।
