काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । गत फागुन २३ गते सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी इनिशाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनले काठमाडौंको माइतीघर मण्डलामा दलित जेनजी अलाइन्सले जारी राखेको प्रदर्शनस्थलमा पुगेर एकबद्धता जनाएका छन् ।
उनले हिँजो घोक्रो फुलाएर निर्मलाको पक्षमा वकालत गर्नेको हातमा अहिले सरकार रहेको जनाउदै ईनिशालाई न्याय दिन घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्ने जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या गरिएको भन्दै देशभर आन्दोलन भइरहेको छ । घटना भएको १० दिन बितिसक्दा पनि उनको परिवारले शव उठाउन मानेको छैन ।
इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ । पोस्टमार्टम रिपोर्ट अनुसार इनिशाको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको परिवारले बताउँदै आएको छ । घटनाको बारेमा गहन अनुन्धान गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट प्रहरी निरीक्षकको कमान्डको विज्ञ टोली शुक्रबार वीरेन्द्रनगर पुगेर शनिबारदेखि अनुसन्धान थालेको छ। त्यस्तै, फरेन्सिक ल्याब परिक्षणका लागि पीडित र पीडक परिवारका दुवै जनाको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदनसमेत दिइसकेको छ । प्रतिवेदन अनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ । घटनापछि चार किशोरलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिसकेको छ ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिशाको गत फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट हिँडेकी थिइन्। इनिशाको परिवारले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म शव नउठाउने बताएका छन् ।
