काठमाडौँ । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजस्व संकलन गरेको हो। गत आवको सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो।
समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क भन्सार महसुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शीर्षकमा भने सरकारले राजस्व सोचेअनुसार उठाउन सकेको छैन। अर्थ मन्त्रालयका अनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजस्व उठाउन सकेको छैन।
आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ। गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो। गत आ।व।को फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो। जब कि चालु आ।व।मा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ।
भन्सार महसुल चालु आवको फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ . सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो।
आठ महिनामा कति भयो खर्च
सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ। चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो। चालूतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ। यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन।
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ। सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्बभन्दा बढी रकम खर्च गरिसकेको छ। पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ।
