काठमाडौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को १२औँ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स ( विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले अधिवेशनको उद्घाटन गरेका हुन् ।अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण बताए । यसले औद्योगिक विकास, रोजगारी सिर्जनामा योगदान पुर्याउने उनको भनाइ थियो ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताए । उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने बताए । आपसी विवादले नागरिकता, श्रमिकको विषय र मतदानको मुद्दा औझेलमा परेको भन्दै उनले एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनले संघको भावी दिशा निर्धारण र विगतको समीक्षा गर्ने बताए । विश्वभरका नेपाली एकताबद्ध छन् भन्ने सन्देश दिने र आउने कार्यसमितिले यसमा भूमिका खेल्ने भन्दै अध्यक्ष श्रेष्ठले संघभित्र विवादको कारको रुपमा रहेको निर्वाचन प्रणाली, डेलिगेट्स प्रणालीमा व्यापक परिमार्जन गरेर सबैलाई मतदानको अधिकार सुनिश्चित गरिने बताए ।
गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ छैन भन्देर नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए । नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो ।
देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए । ‘जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,’ उनले भने । गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै सय दुई जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरे । ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ उनीहरुलाई उत्साहित बनाइदिन संघलाई अपिल गरे । जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने बताए ।
देशभित्रका उद्योगी संघसंस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो । उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गरे । ‘सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ,’ उनले भने । कार्यकारी अध्यक्ष डा।बद्री केसीले फुटदेखि एकतासम्मको यात्रामा आफू नै नेतृत्वमा रहेको भन्दै अझै एकता सुदृढ बनाइने बताए । उनले कार्यव्यवस्थाले पूर्वअध्यक्षहरु सहभागी हुन नसकेको तर उनीहरुको समर्थन रहेको बताए । एकजना पनि गैरआवासीय नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुन नहुने गरी काम गरिने र काम गर्न चाहनेलाई जिम्मेवारी दिएर पठाउने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीको हातबाट गैरआवासी नेपाली नागरिकता लिएको तर आज त्यो कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनले गैरआवासीय ऐन, अन्य ऐन परिमार्जन गर्नुपर्ने बताए । पुरानो नागरिकता पनि निष्क्रिय भएको र नयाँ गैरआवासीय नागरिकताले काम नगरेको भन्दै छिटो कानुनी जटिलता हटाउन सरकारलाई अनुरोध गरे । आउने सरकारले सय दिनभित्र गैरआवासीय ऐन संसदमा पुर्याएर कार्यान्वयन ल्याउन उनले माग गरे । पीएनओ नेपालीहरुले भाषा, संस्कृति जोगाएर राखेको भन्दै आउने सरकारले उनीहरुलाई नेपालीको पहिचान र गैरआवासीय प्रमाणपत्र दिन माग गरे । उनले लगानीसम्बन्धी कानुनहरु पनि परिमार्जन गरेर सहजीकरण गर्न र गैरआवासीय नेपालीको लगानी सहजै भित्र्याउने वातावरण बनाउन पनि माग गरे ।
एनआरएन डेभलपमेन्ट फण्डमा सहयोग जुटे पछि सरकारको असहयोगले सुरुवात गर्न नसकेको बताए । आगामी सम्मेलनमा उद्द्घाटन गर्नेगरी वातावरण बनाइदिन उनले अनुरोध गरे । गैरआवासीय नेपालीले आफ्नो खर्चमा विदेशमा नेपालको पर्यटन र संस्कृति विस्तार गरिरहेको भन्दै सरकारले सहयोग नगरेको गुनासो गरे । विदेशमा नेपाली दूतावासमा कर्मचारी नै पर्याप्त नहुँदा पासपोर्ट समयमा पाउन समस्या भएको, क्याम्पेन गरेर पासपोर्ट दिनुपर्ने अवस्था रहेको भन्दै कमर्चारीहरु बढाउन माग गरे । कोभिडको बेलामा पनि गैरआवासीय नेपालीहरुले ज्यान जोखिममा राखेर भोलियन्टर परिचालन गरेको स्मरण गर्दै अहिले मध्यपूर्वमा गहिरिएको संकटमा नेपालीको सुरक्षाका लागि सरकारसँग सहकार्य गर्न संघ तयार गरेको बताए ।
पूवर्अध्यक्ष विनोद कुँवरले एकता महाधिवेशनले पूर्णता दिएको र आउने कार्यसमिति अझै एकतालाई पूर्णता दिने बताए । ८० लाख गैरआवासीय नेपाली बाहिर बसिरहँदा नेपालको विकासको चिन्ता रहेको बताए । पहिलो महिला अध्यक्ष रबिना थापाले असहमति भए पनि सहमतिमा जानु संस्थाको उद्देश्य भएको बताउँदै छुटेका साथीहरुलाई जोड्नुपर्ने बताइन् । प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, विज्ञतालाई नेपालमा ल्याएर कसरी देश समृद्ध बनाउनुपर्छ भनेर लाग्नुपर्ने र यसका लागि प्रवासी नेपालीबीच एकता जरुरी रहेको उनको भनाइ थियो । प्रवासी नेपालीको विज्ञतालाई प्रयोग गर्न एनआरएनएले नयाँ सरकारसँग समन्वय गर्नुपर्ने उनले बताइन् । हरेक नेपाली प्रवास गइरहेको, परराष्ट्र मन्त्रालयले विदेश मामिला हेर्ने भएकाले अब एनआरएनए मन्त्रालय राख्नुपर्ने माग अघि सारिन् ।
पूर्वअध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकताको साथसाथै श्रमिक नेपालीको सामूहिक लगानीबाट समृद्धिको अभियान अगाडि बढाउन जरुरी रहेको बताए । अधिवेशन हुँदै गर्दा केही व्यक्ति छुटेको भन्दै नयाँ कार्यसमितिले समेट्नुपर्ने बताए । मध्यपूर्वमा संकट चुलिरहेको भन्दै यो कुरालाई सरकारले ध्यान दिनुपर्ने बताए । पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता, लगानीलगायत थुप्रै मुद्दाहरु निर्णायक तहमा पुग्दा विभाजनले एनआरएनए अभियान पछाडि परेको बताए । ‘आज खुसी लागेको छ कि आज सबै साथीहरुले रियलाइजेस गर्नुभएको छ । टुट फुटबाट कसैलाई फाइदा छैन जुट्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । हामी एक भयौ भने मात्र योगदान गर्न सक्छौं । एजेण्डा स्थापित गर्न सक्छौं,’उनले भने ।
पूर्वअध्यक्ष भवन भट्टले एकता अधिवेशन खुसीको कुरा भएको बताए । प्रवासी नेपालीबाट लगानी ल्याउने मेकानिजम बनाएमा सहजै ९० राष्ट्रबाट लगानी भित्रिने भन्दै उनले हाइड्रो, एग्रिकल्चर, टुरिजम र आइटीमा केन्द्रित गर्नुपर्ने बताए । नयाँ आउने सरकारले यो कुरामा ध्यान दिने उनले अपेक्षा गरे । भीम उदासले संघको एकतामा नेपालको समृद्धिलाई जोड्नुपर्ने र त्यसमा एनआरएनएले भूमिका खेल्नुपर्ने बताए । डायस्पोराको सहयोगले भारत र चीन उकासिएको भन्दै आउने नेपाल सरकारले वातावरण बनाएर आह्वान गर्नुपर्ने, विकासमा साझेदार बनाउनुपर्ने बताए ।
