काठमाडौँ । जेनजी विद्रोहपछि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सरकार गठनको प्रारम्भिक आन्तरिक तयारीमा लागेको छ। मन्त्री कसकसलाई बनाउने, मन्त्रिपरिषद् कति आकारको हुने र मन्त्री सांसदलाई नै बनाउने कि विज्ञलाई स्थान दिने लगायतका विषयमा आन्तरिक छलफल सुरु भएको नेताहरू बताउँछन्। प्रधानमन्त्रीको विषयमा भने विवाद र शंकाउपशंका व्यक्त गरिराख्नै नपर्ने नेताहरूको भनाइ छ।
चुनावअघि नै भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह ( बालेन ) लाई अघि सारिएकाले उनकै नेतृत्वमा नयाँ सरकार बन्ने रास्वपा महामन्त्रीसमेत रहेका दाङ २ बाट निर्वाचित सांसद विपिनकुमार आचार्यले बताए। ‘बालेन प्रधानमन्त्री बन्ने कुरा त पार्टीले औपचारिक रूपमा पहिल्यै सहमति गरेर एकदम लाउड एण्ड क्लियर गरिसकेको विषय हो नि’, उनले भने, ‘त्यसमा त हामीलाई प्रश्न सोधिनुपर्छ भन्ने विषय पनि हो जस्तो लाग्दैन मलाई।’
यसबीचमा बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा रास्वपाकै शीर्ष नेताहरूले दिएका गोलमटोल जवाफले आशंका बढाएको थियो। निर्वाचन उत्साहप्रद नतिजा ल्याएपछि सभापति रवि लामिछाने र उपसभापति डिपी ९डोलप्रसाद० अर्यालले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियाले संशय पैदा भएको हो। काठमाडौँ–९ बाट निर्वाचित उपसभापति अर्यालले सहमति कार्यान्वयन गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा निर्वाचनअघि भएको सातबुँदे सहमतिमा के छ भनेर आफुलाई थाहा नभएको जवाफ दिएका थिए। ‘त्यो सम्झौतामा के लेखिएको छ मैले नै एकचोटि हेर्नुपर्छ। मलाई सबै कण्ठ छैन’, उनले भनेका थिए, ‘तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यसमा जे लेखिएको छ‚ त्यही हुन्छ ।’
सभापति लामिछानेलेसमेत ‘बालेन नै पाँच वर्षका लागि प्रधानमन्त्री हो ? ’ भनेर सोधिएको प्रश्नलाई नजरअन्दाज गरेका थिए। रास्वपाकै अर्का नवनिर्वाचित सांसद हरि ढकालले पनि यसबारे दुविधा उत्पन्न हुने जवाफ दिएका थिए। बालेनलाई प्रधानमन्त्री स्विकार्न तयार हो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मैले एक जनाले स्वीकारेर हुन्छ कि पार्टी र नेतृत्वले स्विकार्नुपर्छ ? सबै छलफल व्यापक हुँदै छ।’
नेताहरूको अस्पष्ट जवाफसँगै रास्वपाको विधानमा गरिएको व्यवस्थाले पनि बालेनलाई नै प्रधानमन्त्री बनाउने विषय आशंका बढाएका थियो। किन भने रास्वपाको विधानमा निर्वाचनअघि नै पार्टीका साधारण सदस्यबाट दलको नेता छान्ने उल्लेख छ। त्यसले बालेनलाई प्रधानमन्त्री बन्न बाधा पुर्याउने हो कि भन्ने आशंकाका बाबजुद पनि यो प्रश्न बलियो भएर गएको थियो।
रास्वपा विधानको धारा ६६ को उपधारा ८ मा प्रतिनिधिसभा संसदीय दलको नेता निर्वाचन अगावै उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा गराएर छनोट गर्ने भनिएको छ। जसमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुने उल्लेख छ। विधानमा भनिएको छ, ‘संघीय निर्वाचन अगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ।’
