काठमाडौं । नेपाल आयल निगमले आजदेखि आधा सिलिण्डर ग्यास वितरण गर्न सुरु गरेको छ । आपूर्ति असहज बनेपछि आयल निगमले आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको हो। निगमले टेकुस्थित कार्यालयबाट आधा सिलिन्डर ग्यास वितरण गर्न थालेपछि त्यहाँ उपभोक्ताहरूको भिड र लामो लाइन देखिएको छ।
मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण ग्यास आपूर्तिमा समस्या हुन सक्ने डरले पछिल्लो केही दिनदेखि बजारमा ग्यासको कृत्रिम अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताइरहे पनि उपभोक्ताहरू भने ग्यास नपाएर भौतारिरहेका छन्।
युद्धको कारण भारतबाट ग्यास आउन नसक्ने हल्ला फैलिएको बीचमा मूल्य बढाउने उद्देश्यले ग्यास विक्रेताहरूले ग्यास लुकाइरहेको उपभोक्ताहरूको गुनासो छ। पछिल्ला केही दिनयता उपभोक्ताहरू ग्यासका लागि लामो लाइनमा पालो कुरिरहेका छन्।
