संखुवासभा । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो भए । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेर तेस्रो स्थानमा कायम रहे । यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरिन् ।
नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् । कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उनलाई राजनीतिमा फरक पृष्ठभूमिबाट आएको, विकासकेन्द्रित र अन्तर्राष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वका रूपमा हेरिन्छ । ६२ वर्षीय कार्की शैक्षिक रूपमा उनी बहुआयामिक पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बीएससी पूरा गरेपछि सन् १९९० मा कृषि अर्थशास्त्रमा एमएससी तथा विज्ञान संकायमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
सन् १९९५ मा युनिभर्सिटी अफ म्यानचेस्टर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजना व्यवस्थापनमा डिप्लोमा लिएका उनले सन् २००१ मा युनिभर्सिटी अफ इस्ट एन्ग्लियाबाट ‘द पोभर्टी एन्ड मूभमेन्ट्स फ्रम ब्लो इन नेपाल’ विषयमा पीएचडी गरेका छन् । कूटनीतिक दक्षता अभिवृद्धिका लागि उनले हार्वर्ड ल’ स्कूलबाट अन्तर्राष्ट्रिय कूटनीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण, यूएनबाट अन्तर्राष्ट्रिय वार्तासम्बन्धी तालिमसमेत लिएका छन् ।
