काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबार ( भोलि ) सम्ममा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् ।
प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम गरिरहेका छौं, आज अपराह्नसम्म त्यो काम सकिनेछ,’ आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’ अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।
गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।
