काठमाण्डौं । सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम फागुन २५ गते तय गरेको छ। कार्यक्रम सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा दिउँसो २ बजे सञ्चालन हुने सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।
सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरूलाई शपथ कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ। उनीहरूले औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा उपस्थित भई निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउनुपर्नेछ।
सूचनामा उल्लेख गरिएअनुसार नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५को दफा ६८ को उपदफा ९९० बमोजिम शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यसको एक प्रति २०८२ साल फागुन २४ गतेभित्र सचिवालयमा बुझाउनुपर्नेछ। राष्ट्रिय सभाको निर्वाचन गत माघ ११ गते सम्पन्न भएको थियो।
