काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट हाल्दा पाप लाग्ने बताएका छन्। मधेश यात्राको क्रममा सिरहामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै यसपटक आफूहरूलाई अवसर दिन आग्रह गरे। उनले भने, ‘दुइटै छाप घण्टीमा हो समानुपातिक पनि प्रत्यक्ष पनि। नत्र हामीलाई सिट पुग्दैन। सरकार बनाउनको लागि सङ्ख्या चाहिन्छ, सिट चाहिन्छ। भोट आधी आधी गर्यो भने सङ्ख्या पुग्दैन त्यसैले दुवैतिर जसले जे भनेपनि।’
पैसा खर्च गरेर मधेसको भोट किन्ने मान्छेहरूप्रति खबरदारी गर्न आग्रह गरे। उनले भने, ‘पैसाले भविष्य बेच्ने होइन। पैसामा आफ्नो भविष्य नबेच्नुहोला। कसैले दिएछ भने लिए हुन्छ त्यो हाम्रो भविष्य चोरेको पैसा हो। आफ्नो पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन। तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ।’
उनले मधेसले मात्र होइन नभई सिङ्गो देशले पहिलो पटक धेरै युवा उम्मेदवार प्राप्त गरेको भन्दै इतिहास लेख्न अवसरबाट नचुक्न आग्रह गरे।उनले थपे, ‘वर्षौँदेखि तपाई हामी विभिन्न धर्मावलम्बी विभिन्न जातजाति मिलेर बसेका छौँ। चुनावका नाममा, राजनीतिका नाममा तपाई र मलाई अलग गर्न खोजिन्छ। जसले धार्मिक मुद्दा बोकेर हामीलाई अलग गर्न खोज्छ, त्यसलाई एक भोट नदिनुहोला। धर्म आफ्नो छ, जातजाति आफ्नो छ, सभ्यता, संस्कृति सबै आफ्नो छ, त्यो व्यक्तिको कुरा हो। तर राजनीति अब्बल मान्छे चलाउने कुरा हो।’
