मनाङ । मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्री सहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली हिउँ हटाउने कार्यमा जुटेको थियो।
विशेष गरी सो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरू हिउँले पुरी अवरूद्ध भएको थियो। सो बाटोहरूमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरु आवत जावत गर्न असहज भएको थियो।
बाटो अवरूद्ध पश्चात तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनमा हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। फागुन ६ गतेदेखि सुरू भएको हिउँ पन्छाउने कार्य आज खुलेको हो।
