काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताएका छन्। १०औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताए।
उनले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दावी गरे। खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहे पनि केही प्रतिशत बदर हुनसक्ने उनको भनाइ छ। अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उनले बताए। आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उनको भनाइ छ। तर मतदातालाई मतदानस्थल वा मतदान केन्द्रसम्म लैजाने वातावरण बनाउन भने सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए।
राजनीतिक दल, दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। उनले मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने वातावरण बन्न नसकेमा भने मतदान प्रक्रियामा सहभागी हुन चाहने मतदाता पनि पछि हट्न सक्ने बताए।
