काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ ( एन्फा ) लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। आयोगले पत्रमार्फत एन्फाको आसन्न निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। पत्रमा एन्फाले निर्वाचनसम्बन्धी कार्यक्रम अघि बढाएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका अनुसार यसअघि भएको पत्राचार तथा निर्देशनको सन्दर्भमा सम्बन्धित निकायबाट निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः कार्यक्रम अघि बढाइएको पाइएको उल्लेख छ। आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न तथा अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गर्न स्पष्ट निर्देशन दिएको छ।
आयोगले आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ। सोमबार एन्फाले निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको थियो। जसअनुसार एन्फाको नयाँ नेतृत्वका लागि २७ फागुनमा मतदान हुने कार्यतालिका थियो। तर, आयोगको निर्देशनसँगै एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ।
