भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ। केन्द्रले छपाइ बाँकी रहेको पाँच लाख मतपत्र आज दिनभरिमा सम्पन्न गर्ने जानकारी दिएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आज साँझसम्म छपाइ सकिनेछ। उनका अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र आजै सकिनेछ।
४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइ कार्य ४० दिनमै सम्पन्न हुन लागेको उनले बताए। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै लक्ष्यभन्दा अगाडि नै काम सम्पन्न गरेको जनाएको छ। छपाइ सम्पन्न भएका १० लाख नमूना मतपत्र निर्वाचन आयोग ले विभिन्न स्थानमा पुर्याइसकेको छ।
त्यस्तै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न गरी जिल्लामा पठाउने कार्य भइरहेको छ। पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ।
