रौतहट । रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा आयोजना गरिएको मधानी महोत्सव २०८२ सम्पन्न भएको छ। नगरवासी तथा स्वदेश–विदेशबाट आएका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिताले यस वर्षको महोत्सव उल्लासमय बनेको आयोजकले जनाएको छ। आसन्न आम निर्वाचन र जिल्ला सुरक्षा समन्वय समितिको आग्रहअनुसार यसपटक देशी–विदेशी कलाकारको सहभागिता राखिएको थिएन।
कलाकारबिनै हजारौँ भक्तजनको उपस्थितिले पतौराधाम प्राचीन महादेवस्थलका रूपमा स्थापित भइसकेको सन्देश दिएको मौलापुरकी मेयर रिना कुमारी साहले बताइन्। महाशिवरात्रिको अवसरमा पतौराधामस्थित पुरातात्त्विक महादेव मन्दिरमा हरेक वर्षझैँ यस वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको हो। मौलापुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको तीनदिने महायज्ञ शिव–पार्वतीको विवाह उत्सवका रूपमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको थियो।
महायज्ञको पहिलो दिन शिव–पार्वतीको बरात यात्रा निकालिएको थियो। पतौराधामबाट हरेक वर्ष निकालिने भगवान शिवको बरात नेपालमै अनौठो मानिन्छ। बरात यात्रामा प्रभु साह र मेयर रिना साहसहित नेपाल र भारतबाट आएका हजारौँ श्रद्धालु सहभागी भएका थिए। बसाहामा सवार भगवान शिवको झाँकीसँगै ब्रह्मा, विष्णु तथा विभिन्न देवताका प्रतीकात्मक झाँकी प्रस्तुत गरिएको थियो। बोलबम काँवरिया, शिवमण्डली र स्थानीयवासीको सहभागिताले पतौराधाम क्षेत्र दिनभर भक्तिमय बनेको थियो। हात्ती, घोडा र परम्परागत बाजागाजासहितको झाँकीले बरात यात्रालाई थप आकर्षक बनाएको थियो।
मेयर साहका अनुसार पतौराधामस्थित महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित महायज्ञ आयोजना हुँदै आएको छ। यस प्रकारको शिव बरात यात्रा नेपाल मात्र नभई विश्वमै दुर्लभ हुन सक्ने दाबी गरिएको छ। ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको पतौराधाम क्षेत्रमा शिवको प्राचीन मूर्ति फेला परेपछि उत्खनन सुरु गरिएको थियो। उत्खननका क्रममा प्राचीन मन्दिर संरचना र गुप्तकालीन सामग्री भेटिएपछि यस क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग उठ्दै आएको छ।
महोत्सव सफल बनाउन सहयोग गर्ने नगरवासी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, साधुसन्त तथा भक्तजनप्रति आयोजकले आभार व्यक्त गरेको छ। सुरक्षा निकायका अनुसार मेला अवधिभर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो। महोत्सवमा दुई लाखभन्दा बढी भक्तजनले दर्शन तथा अवलोकन गरेको मौलापुर नगरपालिकाले जनाएको छ।
