काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन आउन तीन सातामात्र बाँकी हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा राजावादीहरूले एकाएक सक्रियता बढाएका छन् । हाल झापामा रहेका पूर्वराजा शाह शुक्रबार काठमाडौँ फर्किने तय भएसँगै राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउने कार्यक्रम सार्वजनिक भएपछि राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी थालेका छन्। शुक्रबार दिउँसो १२ बजे विमानस्थलमा भेला भएर स्वागत गर्न आह्वान गरिएको छ। राजावादीको उक्त तयारीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन र विश्लेषण सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ। उक्त निषेधाज्ञा फागुन १ गतेदेखि एक महिनासम्म लागू रहने बताइएको छ। सुरक्षा अवस्थाको समीक्षा गर्न बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आयोजित बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारी सहभागी छन्। जिल्ला सुरक्षा समितिबाट सुरक्षा रणनीतिबारे आवश्यक निर्णय लिइने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले रातोपाटीलाई जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले विमानस्थलभित्रै स्वागत गर्न जाने आशयका सामग्री सामाजिक सञ्जालमा प्रकाशित भएको उल्लेख गर्दै त्यसलाई सुरक्षा चुनौतीका रूपमा लिइएको बताए। उनका अनुसार विमानस्थलभित्र पाँच जनाभन्दा बढीलाई भेला हुन दिइने छैन। बाहिर हुनसक्ने प्रदर्शन र भेलालाई ध्यानमा राख्दै आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिने उनले बताए। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ। प्रदर्शनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, दुर्गा प्रसाईं नेतृत्वको महाभियान, नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिसहितका राजावादी संघसंस्थाहरूको सहभागिता रहने बताइएको छ ।
