काठमाण्डौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाल आज ( बिहीबार ) दोस्रो खेल इटालीसँग खेल्दै छ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्न चाहन्छ। भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ।
नेपाल भने तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ। नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा कुनै खेल जित्न सकेको छैन।
उता इटाली जारी विश्वकपमा आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको छ। आज एकअर्काविरुद्ध मैदान उत्रिँदा नेपाल र इटाली दुवै पहिलो जित हासिल गर्ने दाउमा हुनेछन्। सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ। आफूले जितेर मात्र हुँदैन, अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्ने हुन्छ।
समूह सीका टोलीमध्ये नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन छन्। अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्।यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ। एक खेलमा जित र एकमा हार गरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्।समान २र२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा भएका हुन्। समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। माघ २४ देखि भारत र श्रीलंकामा एकसाथ सुरु टी(२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्।
