काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ। आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा पाँच वर्गमा विभाजन गरेको छ। सोही आधारमा तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले खर्च गर्न पाउने छन्।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारले गर्न पाउने अधिकतम खर्चसीमा क्षेत्र अनुसार २५, २७, २९, ३१ र ३३ लाख रुपैयाँसम्म तोकिएको छ। निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारले तोकिएको सीमाभित्र रहेर खर्च गर्न पाउने छन्। उम्मेदवारले अधिकतम खर्च २५ लाख रुपैयाँ गर्न पाउने क्षेत्रहरुमा काडमाडौंका सहरी क्षेत्र छन्। काठमाडौंका–१, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकत्तम निर्वाचन खर्च २५ लाख मात्र गर्न पाउने छन्।
यसैगरी उम्मेदवारहरूले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने क्षेत्रहरूमा ताप्लेजुङदेखि बैतडीसम्मका २६ वटा छन्। ताप्लेजुङ–१, पाँचथर–१, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१ र २, मकवानपुर–१ र २, गोरखा–१, अर्घाखाँची–१, रोल्पा–१, प्युठान–१, दाङ–१, बर्दिया–१ र २, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१ र बैतडी–१ छन्।
त्यसैगरी उम्मेदवारहरूले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र १७ वटा छन्। तेह्रथुम–१, पर्सा–१, २ र ३, रसुवा–१, काठमाडौं–२, ४, ५, ९ र १०, भक्तपुर–२, ललितपुर–१, २ र ३, मनाङ–१, कास्की–२ र रुकुम पूर्व–१ छन्।
‘सुगम र सहरी क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ अधिकतम खर्च गर्न पाउँछन् । मध्यम श्रेणीमा परेका निर्वाचन क्षेत्रहरुका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने गरी तोकिएको छ,’ सहायक प्रवक्त जिसीले नागरिकसँग भने,’ अन्य मध्यवर्ती क्षेत्रका उम्मेदवारले २९ लाख, थप दुर्गम तथा लामो यात्रा गर्नुपर्ने क्षेत्रका उम्मेदवारले ३१ लाख र सबैभन्दा दुर्गम र पछाडि परेका क्षेत्रका उम्मेदवारले बढीमा ३३ लाख रुपैयाँसम्म निर्वाचन खर्च गर्न पाउने कानुनी व्यवस्था गरिएको छ।’ उनका अनुसरा यसरी उम्मेदवारको चुनाव खर्चसीमा तोक्नुको उद्देश्य पारदर्शिता कायम गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने र तडकभडक गर्न रोक लगाउनु हो।
‘उम्मेदवारहरूको अधिकतम चुनाव खर्चसीमा निर्धारणको अवस्था हेर्दा २९ लाख रुपैयाँ खर्च गर्न पाउने क्षेत्र धेरै छन्’, सहायक प्रवक्ता जिसीले भने, ‘मध्यम पहुँच भएका ६५ वटा क्षेत्र यो वर्गमा छन्। त्यस्तै दुर्गममा पर्ने ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम खर्च ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा तोकिएको छ।’ जिसीका अनुसार समानुपातिक निर्वातर्फ भने प्रत्येक उम्मेदवारबराबर दुई लाख रुपैयाँका दरले दलहरुले निर्वाचन खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ।
