काठमाण्डौं । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदातालाई कुनै दबाब वा डर नमानेर ढुक्क भएर आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आग्रह गरेको छ। आयोगले मतदान प्रक्रिया पूर्ण रूपमा गोप्य हुने भएकाले कसले कसलाई मतदान गर्छ भन्ने कुरा कसैलाई थाहा नहुने बताएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन २१ गते हुने निर्वाचन नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुनअनुसार संचालन हुने भन्दै मतदाताको मतदान गोप्य रहने सुनिश्चितता गरिएको बताए। उनले पछिल्लो समय कसलाई भोट दिनुहुन्छ भन्ने प्रश्नहरू सार्वजनिक रूपमा सोध्ने र सामाजिक सञ्जालमा पनि खुलस्त अभिव्यक्ति दिने प्रवृत्तिले सामाजिक रूपमा असहज अवस्था सिर्जना गर्न सक्ने भन्दै सचेत रहन आग्रह समेत गरे।
त्यसैगरी आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले एक मतले पनि देशको भविष्य परिवर्तन गर्न सक्ने बताइन्। उनले सबै मतदातालाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन आग्रह गरेकी छन्। उनले योग्य उम्मेदवार चयनमा एक मतको ठूलो महत्व रहने भएकाले मत खेर नफाल्न र फागुन २१ गते आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न सबै मतदातालाई अनुरोध गरिन्। व्यक्तिको एक उचित मतले देशको लोकतन्त्र रहने भन्दै उनले मतदातालाई सचेत हुन समेत अनुरोध गरिन्।
