काठमाडौं । सरकार जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको हो ।
‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको छ,’ उनले भने । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद फेरि थप गरेको छ । सोमबार अपराह्न बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रो पटक थप गरेको छ ।
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । तीन महिनाको समय दिएर गठित आयोगले निर्धारण गरिएको समयमा काम नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो । त्यो समयमा पनि काम नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद पुनः २० दिन थप्ने निर्णय गर्यो ।
त्यो समय बुधबार ९माघ २८ गते० सकिँदैछ । यो समयमा पनि काम नसकिएपछि पुन थप्न लागिएको हो । म्याद थप्ने निश्चित भए पनि कति समय थप्ने भन्ने निश्चित भइसकेको छैन । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।
