काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई फागुन १ देखि परिचालन गर्ने भएको छ । फागुन २१ का लागि ‘मेरो २१ दिन’ अभियान सुरू गर्न लागि हिजो बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरिसकेको छ ।
निर्देशिकामा भनिएको छ, ‘फागुन २१ का लागि मेरो २१ दिन भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ । यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्लारक्षेत्ररपालिका र वडामा केन्द्रित रहनुहुनेछ ।’
पारित निर्देशिकामा पार्टीका उम्मेदवारहरूलाई प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्न निर्देशन गरिएको छ। निर्देशिकामा भनिएको छ, ‘निर्वाचनको मैदान दुस्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो ।’
निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य दलहरूकै भएको भन्दै अन्य दललाई घचघच्याउने भूमिकासमेत कांग्रेसले निर्वाह गर्नुपर्ने उल्लेख छ । निर्देशिकामा भनिएको छ, ‘घृणास्पद, उत्तेजक र भड्काऊ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् । सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वाभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्ण संयमित र परिपक्व रहनेछ ।’
कांग्रेसले यसअघि नै निर्वाचनको केन्द्रित गरेर देशभरी नै प्रतिनिधि खटाइसकेको छ । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेस नयाँ ढंगबाट चुनावमा होमिएको छ । कांग्रेसले यस पटकको चुनावमा कुनै दलसँग गठबन्धन नगरी १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । घोषणापत्र सार्वजनिक गरेर चुनावी अभियानका लागि सभापति गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरू देश दौडाहामा लाग्ने तयारीमा छन् ।
