काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचार विरोधी अभियान थालेको स्मरण गरेका छन्। पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेपालमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन नगरेसम्म विकास सम्भव नभएको बताए। उनले भने, ‘जुन बेला प्रचण्डको नेतृत्वमा पछिल्लो सरकार बन्यो र म आफै उपप्रधानमन्त्री र गृहमन्त्री थिएँ, हामीले चाहे भुटानी शरणार्थी काण्ड होस्, बाँसबारी छाला जुत्ता काण्ड होस्, सुन तस्करी काण्ड होस्, ललिता निवास काण्ड होस्। ठुलठुला भ्रष्टाचार विरोधी अभियानहरू सञ्चालन गर्यौँ।’
उनले मिटरब्याजी पीडितको समस्या समाधान गर्नको लागि ऐन ल्याएको समेत बताए। उनले थपे, ‘हामीले भ्रष्टाचारको विरुद्ध कानुनी शासनको पक्षमा, कानुन सबैको लागि समान हुनुपर्छ भन्ने पक्षमा ठुलो अभियान सञ्चालन गर्यौँ। त्यो सुशासनको अभियानले देशमा एउटा आशाको सञ्चार गरेको थियो। अब देशमा केही हुन्छ, राजनीतिक परिवर्तन पछाडि जुन अपेक्षा गरिएको थियो सामाजिक(आर्थिक रूपान्तरण, विकास र समृद्धिको, त्यो दिशातिर फड्को मार्छ भन्ने अपेक्षा बढेको थियो। तर हाम्रो सरकारलाई सुशासनको अभियानलाई निरन्तरता दिन दिइएन। हाम्रो सरकारलाई यसले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारणले सरकार ढालियो।’
उनले प्रचण्ड नेतृत्वको सरकारले गरेको भ्रष्टाचार विरोधी सुशासनको अभियानलाई निरन्तरता दिन पाएको भए जेनजी आन्दोलन नै नहुने अवस्था बनाइसकेको स्मरण गरे। उनले भने, ‘तत्कालीन सरकारले बानेश्वरमा नै २१ जना युवाहरूको ज्यान लियो र दुई दिन गरेर ७० भन्दा बढी नेपाली नागरिकहरूको नृशंस हत्या भयो। नेपालको इतिहासमा कहिल्यै नभएको नरसंहारकारी दमन त्यो बेलामा भयो। त्यसको कारणले सरकारले राजीनामा दिनुपर्ने स्थिति पैदा भयो। राजीनामा मात्रै दिएर स्थिति भएन, कामचलाउ सरकारको रूपमा पनि काम गर्न नसक्ने स्थिति पैदा भयो, संसद् विघटनसम्म पुग्यो र त्यसको परिणाम अहिले ८४ मा हुने भनेको चुनाव अहिले ८२ फागुन २१ मा हुन आइपुग्यो।’
सुशासनको पक्षमा हुने जनताले समर्थन गर्नुपर्ने बताए। उनले भने, ‘हामीले स्वाभाविक रूपमा यो अवस्थामा निरङ्कुश तन्त्रको विरुद्ध लोकतन्त्रको पक्षमा रहनेलाई फैसला दिनुपर्ने छ। त्यस कारणले अहिले हाम्रो पार्टीले, नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनमा मात्रै होइन, तर निर्वाचनमा पनि मूल एजेन्डा यही बनाएका छौँ। कतिपय शक्तिहरू अहिले हामी नयाँ छौँ, नयाँलाई मत दिनुस् भनेर आइराखेका छन्। प्रश्न नयाँ र पुरानोको होइन। प्रश्न सही वा गलत हो।’ उनले नेपालमा अहिलेको परिस्थिति विदेशी शक्तिहरूको क्रीडास्थल बन्ने हो कि भन्ने खतरा बढेर गएको बताए।
उनले भने, ‘वैदेशिक हस्तक्षेप बढेर गएको छ। र विदेशी हस्तक्षेपलाई प्रोत्साहित गर्ने शक्तिहरूको चलखेल बढेर गएको छ। राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति बढेर गएको छ। त्यस कारणले जनताले राष्ट्रिय स्वाधीनताको पक्षधर देशभक्त शक्तिलाई जिताउने कि राष्ट्रिय स्वाधीनतालाई कमजोर पारेर विदेशी शक्तिहरूको चलखेल बढ्न दिने राष्ट्रिय आत्मसमर्पणवादी शक्तिहरू र विदेशीका इसाराअनुसार चल्ने शक्तिहरूलाई विजयी गराउने रु फैसला यहाँ गर्नुपर्ने छ।’ संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिहरूलाई पनि खोस्ने षड्यन्त्र भइराखेको बताए।
