काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न भएको छ। बैठकमा महामन्त्री गुरुराज घिमिरेले पूर्वनिर्धारित प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२” तथा “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२” लाई आवश्यक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नेपाली कांग्रेसको विधान, २०१७ ( संशोधनसहित ) को धारा ३४ को उपधारा ( ७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ। गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेका छन् ।
बैठकमा उपसभापति पुष्पा भुसालसहित सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा.डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी तथा प्रवक्ता देवराज चालिसेले आ–आफ्ना धारणा राखेका थिए ।
