काठमाडौं, । बिहीबार राति बैतडीको पुर्चौडी नगरपालिका–७ को भवनेबाट दुलही लगेर बझाङको सुनकुडातर्फ फर्किरहेको जन्ती बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिज र छोरी ज्वाइ र दुलहीका भाईसहित १३ जनाले ज्यान गुमाएका छन् ।
कच्ची सडक, उकालो बाटो र क्षमता भन्दा बढी यात्रु सवार पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका सहोदर काका हुन्। नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन्। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। वसन्तराज कृषि प्राविधिक पदमा कार्यरत थिए।
घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन्। अन्य मृतक तथा घाइतेहरू पनि बेहुलाका आफन्त र इष्टमित्र रहेको बताइएको छ।
घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन्। घटनामा ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ। यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन्।
घटनामा ज्यान गुमाउनेमा पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्र रहेको बताइएको छ। दुर्घटनामा परेको बस सडकबाट करिब २०० मिटर तल खसेको छ ।
दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन्।
घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना तथा डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते पाँच जनालाई डडेल्धुराबाट धनगढी रिफर गरिएको छ भने, २५ जनाको डडेल्धुरामा उपचार भइरहेको छ। यस्तै चार जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्र बस चालकको बैतडीको पाटनमा उपचार भइरहेको छ।
१३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै बैतडीको पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।
