काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई चरणमा नभई एकै चरणमा निर्वाचन हुनुपर्ने बताएका छन् । हिजोमात्रै प्रधानमन्त्री सुशीला कार्कीले सकेसम्म एकै चरणमा निर्वाचन गर्ने र कहीँ कतै नभएको ठाउँमा अर्को चरणमा ९दुबारा० गर्ने बताएकी थिईन् ।प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।
आज ( बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । तोकिएको मितिमै निर्वाचन गरिनुपर्ने प्रचण्डको माग छ । यो पटकको निर्वाचन सामान्य निर्वाचन प्रक्रिया नभएर असाधारण परिस्थितिमा हुन लागेको भन्दै एकै चरणमा निर्वाचन गर्न सरकारलाई उनको सुझाव थियो ।
दाहालले थपे,‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’ यो पटकको निर्वाचनमा नेकपा सबभन्दा ठूलो दल बन्ने दाहालको दाबी थियो । तर, निर्वाचन निस्पक्ष र धाँधलीरहित हुनुपर्ने उनको माग छ ।
