काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकपछि गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भने, ‘निर्माणाधिन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो ।’
भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरूको प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो । नयाँबानेश्वरस्थित संसद भवनमा समेत आगजनी भएकाले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनलाई आगामी फागुन २१ गते हुने निर्वाचनपछि प्रयोग गर्ने तयारी भइरहेको छ ।
