म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट उम्मेदवार बनेका निर्वतमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन अहिले निर्वाचन लक्षित चुनावी प्रचार गरिरहेका छन् । उनको चुनावी प्रचार अन्य दलका नेता तथा उम्मेद्वार भन्दा विल्कुल फरक छ । उनी भन्छन्, ‘उम्मेदवार मै हो । भोट दिन मन लागे दिनुहोस् मन नलागे नदिनुहोस् ।’
मतदातासँग छलफल गर्न र मत माग्न म्याग्दीको डाँडाखानी पुगेका उनले भने, ‘ल है डाँडाखानी गाउँका दाजुभाइ दिदीबहिनीहरू म उम्मेदवार महाविर पुन आएँ । छलफल गर्न आउनुहोस् । भोट दिन मन लागे दिनुहोस् ।’ यत्तिकैमा एक स्थानीयले भोट दिन मन नलागे के गर्ने भनेर पार्श्वमा सोध्दा उनले भने, ‘भोट दिन मन नलागे नदिनुहोस् । तर प्रश्न सोध्नुहोस् । धन्यवाद ।’
उनी जहाँ निर्वाचन केन्द्रित छलफलमा जान्छन् एक्लै देखिन्छन् । उनीसँगै एक क्यामेरा पर्सन भएको झल्को उनको पोस्टमा देखिन्छ । पत्रकार सम्मेलन गर्दा पत्रकारलाई भेला पार्न वा मतदातासँग छलफल गर्न मतदातालाई भेला पार्न आफैँ बोलाउँदै हिँड्छन् ।उनले खुलेर भन्ने गर्छन् । मैले जित्छु । तपाईंले भोट दिनुहोस् तर मन पर्दैन भने नदिनुहोस् । विना तामझाम उनको प्रचार सामाजिक सञ्जालमा भने निक्कै चर्चामा आउने गरेको छ ।
