काठमाण्डौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचनमा कुल मतदातामध्ये ९५ दशमलव ६८ प्रतिशत मत खसेको थियो । सातै प्रदेशमा शान्तिपूर्ण वातावरणमा सम्पन्न मतदानको नतिजा सार्वजनिक भएसँगै गठबन्धनका उम्मेदवारहरूको बर्चस्व देखिएको हो।
निर्वाचनमा विभिन्न समूह अन्तर्गत महिला, दलित, अपाङ्गता भएका तथा अल्पसङ्ख्यक र अन्य तर्फ भएको प्रतिस्पर्धामा सत्ता गठबन्धनका उम्मेदवारहरूले आफ्ना प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा रिक्त दुई सिटमा भएको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ नेकपा एमालेकी उम्मेदवार लीलाकुमारी भण्डारीले ३ हजार ९ सय ८४ मतभार प्राप्त गर्दै जित हासिल गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की उम्मेदवार रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार मात्र प्राप्त गरिन्।
त्यसैगरी, अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतभारसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाका टिकाराम जैशीले १ हजार ८ सय ५ मतभारमा चित्त बुझाउनु परेको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा पनि गठबन्धनकै दबदबा रह्यो। यहाँ रिक्त रहेका तीनवटै पदमा कांग्रेस–एमाले गठबन्धनले जित हासिल गरेको छ लुम्बिनीमा कुल २२४ मतदाता रहेकामा ४ जना अनुपस्थित रहँदा २२० जनाले मतदान गरेका थिए।
महिलातर्फ नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री ६ हजार ३ सय ३० मतभारसहित विजयी भइन्। अपाङ्गता तथा अल्पसङ्ख्यक समूहबाट नेपाली कांग्रेसका उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ले ५ हजार ३ सय २२ मतभार ल्याएर निर्वाचित भए भने अन्यतर्फ नेपाली कांग्रेसकै चन्द्रबहादुर केसीले ५ हजार ९ सय ७७ मतभार प्राप्त गर्दै विजय हासिल गरे।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा भएको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारहरूले सफलता हात पारेका छन्। यहाँ २२८ मतदातामध्ये २२३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए। मतपरिणाम अनुसार अन्यतर्फ नेपाली कांग्रेसका जगत तिमिल्सिना ५ हजार ३३ मतभारसहित विजयी भए।
उनका प्रतिस्पर्धीहरू नेकपाका कपिल लामाले ९ सय ४१ र राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालले जम्मा ७६ मतभार प्राप्त गरे। महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटा ५ हजार १४ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।
कोशी प्रदेश
कोशी प्रदेशमा तीन पदका लागि निर्वाचन प्रक्रिया अघि बढेकोमा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा अन्य समूहतर्फ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
बाँकी रहेका पदहरूमा आज भएको मतदानबाट महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे ७ हजार १ सय ७३ मतभारको फराकिलो अन्तरसहित विजयी भइन्।
उनकी प्रतिद्वन्द्वी नेकपाकी नमिता न्यौपानेले २ हजार २ सय ६८ मतभार मात्र प्राप्त गरिन्। यसैगरी दलिततर्फ नेकपा एमालेका सोम पोर्तेल विजयी भएका छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको नतिजा पनि गठबन्धनकै पक्षमा गएको छ। यहाँ महिलातर्फ नेकपा एमालेकी मिना सिंह रखाल ३ हजार १ सय ४५ मतभारसहित निर्वाचित भइन् भने उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतरा शाहीले १ हजार ७ सय ३४ मतभार प्राप्त गरिन्।
अन्यतर्फ नेपाली कांग्रेसका ललितजंग शाही ३ हजार २ सय ७८ मतभार ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाका बुद्धिप्रसाद शर्माले १ हजार ६ सय ३९ मतभार मात्र प्राप्त गर्न सके।
मधेश प्रदेश
उता मधेश प्रदेशमा महिला सिटका लागि भएको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रेखा झा ७ हजार २ सय २२ मतभार प्राप्त गर्दै विजयी भएकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी शमी कुमारी अग्रवालले १ हजार ९ सय ४४ मत र जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३ सय २२ मतभार प्राप्त गरेका थिए।
बागमती प्रदेश
बागमती प्रदेशमा कुल ३१८ मतभार खसेको थियो। जसमा प्रदेशसभाका ८९ र स्थानीय तहका २२९ मतदाता सहभागी थिए। महिलातर्फ नेपाली कांग्रेसकी गीता देवकोटा ६ हजार २ सय ३९ मतभारसहित निर्वाचित भइन् भने अन्यतर्फ नेकपा एमालेका डा. प्रेमप्रसाद दंगाल ६ हजार २ सय ५ मतभार प्राप्त गर्दै विजयी भएका छन्।
