काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने र प्रशासनमा सुशासन कायम गर्न नयाँ तथा पुराना पुस्ताका नेतृत्व एकसाथ अघि बढ्नुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत राजनीतिमा आउने नयाँ र पुराना पुस्ताबीच सहकार्यको विकल्प नरहेको बताएका हुन्।
पछिल्लो समय नेताहरूबीच देखिएको असमझदारी देखेर दलहरू एकापसमा मिल्न नसके जनताले उनीहरूको अस्तित्व नै समाप्त पार्न सक्ने बताएका हुन्। निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना दलहरूबीच देखिएको विवाद र बेमेलले राजनीतिक स्थायित्वमा असर पार्न सक्ने भन्दै मन्त्री पुनले दलहरू मिलेर निर्वाचनमा जानुका साथै देश विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।
मातृभूमि नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने र स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै मन्त्री पुनले सबै राजनीतिक दललाई आपसी मतभेद भन्दामाथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्ने बताएका हुन्।
