काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ । विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई आभार व्यक्त गर्ने निर्णय गरेको हो ।
शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व लिनुभयो । उहाँप्रति हार्दिक आभार गर्ने निर्णय बैठक गरेको छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँबाट अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले लिएको छ ।’निर्वाचन आयोगबाट वैधानिकता पाए पनि गगन थापा नेतृत्वको कांग्रेसले आज पार्टी कार्यालयमा बैठक राख्न सकेन । सानेपास्थित कांग्रेस कार्यालय देउवा पक्षको नियन्त्रणमा छ । आज आधिकारिक कांग्रेस र देउवा पक्ष दुवैले केन्द्रीय समिति बैठक डाकेका थिए । देउवा पक्षको बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्यो । यता, आधिकारिक कांग्रेसको बैठक भने नयाँ वानेश्वरको एउटा पार्टी प्यालेसमा बसिरहेको छ ।
कांग्रेसमा आधिकारिकता विवादसँगै संस्थापन पक्षका कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा सुरक्षा दिइरहेका थिए । अहिलेसम्म पनि कार्यालयमा देउवा पक्षकै पकड छ । आधिकारिकता पाएको गगन पक्षले केन्द्रीय कार्यालयलाई नियन्त्रणमा लिनेबारे कुनै निर्णय गरेको छैन । उपसभापति पुष्पा भुषालले आफूहरु मुठभेड गरेर पार्टी कार्यालयमा प्रवेश नगर्ने र उचित समयमा जाने बताएकी छन् ।
