काठमाण्डौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ। शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै यस्तो निर्णय गरेको नेता डा। प्रकाशशरण महतले जानकारी दिए।
बैठकले आयोगको यो निर्णय ‘अवैधानिक’, ‘एकतर्फी’ र ‘दुषित मनसाय’ बाट प्रेरित भएको बताएको उनले बताए। बैठकपछि निर्णय सुनाउँदै उनले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई आयोगको उक्त निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको बताए। उनले भने, ‘उपस्थित संख्या समेत नहेरी एकतर्फी रूपमा गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
नेता महतले निर्वाचन आयोगले आफूहरूलाई आफ्नो पक्ष राख्ने मौका समेत नदिएको गुनासो गरे। ‘आयोगले हामीलाई बोलाउँदा पनि बोलाएन। हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि पूरा गरेन,’ महतले भने, ‘नजीर, विधान र निर्वाचनसम्बन्धी कानुनको पालना नगरी अन्यायपूर्ण निर्णय गरियो।’
साथै उनले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताउँदै भोलि ९आइतबार० सर्वोच्च अदालत जाने तयारी रहेको जानकारी दिए। महतले भने, ‘सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाइ गर्ने ठाउँ हो। भोलि हामी यसको खिलाफमा सर्वोच्च जान्छौँ। हामीलाई विश्वास छ, सर्वोच्चबाट न्याय हुन्छ र स्टे अर्डर आउन सक्छ।’
