काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित ( गगन समूह ) का महामन्त्री गुरुराज घिमिरे ७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेका छन्। शेरबहादुर देउवा पक्ष आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि उनले विमति जनाएका हुन्। उनले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केबल राजनीतिक प्रपोगाण्डा मात्र हो।’
तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै ४ महिना पछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत नभएको बताएका छन्। उनले भनेका छन्, ‘विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधि मध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा छ।’
आफैँ उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यवाहक सभापतिले विशेष महाधिवेशन बारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो भएको उनको टिप्पणी छ। उनले भनेका छन्, ‘विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको सङ्ख्या रहेको जुन सम्पूर्ण सदस्य सङ्ख्या ४६३५ को ५४.५८ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी सङ्ख्या २६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको जानकारी गराइन्छ।’
