काठमाडौँ । अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ । मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, निर्णय नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप हो र अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीका भिसा स्थगित गर्ने निर्णय भएको हो । अमेरिकाले यसअघि ४० देशका लागि लगाएको अध्यागमन र यात्रा प्रतिबन्धकै निरन्तरतामा थप ७५ देश पनि जोडेको हो ।
विदेश मन्त्रालयले भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ । यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुनः मूल्याङ्कन गर्दैन ।’ यो नियम जनवरी २१ देखि लागु हुनेछ । अमेरिकाले गैरआप्रवासी भिसा आवेदकले पनि अमेरिकामा सार्वजनिक सुविधा खोज्न सक्ने सम्भावनाबारे जाँच गर्न निर्देश भएको छ ।
