काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ । विशेष महाधिवेशन पक्षधरले एक वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताएका छन् । उनले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दावी गरेका छन् ।
कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन् । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशन मार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ’, महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने– ‘सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ ।’
उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे । उनले आफूहरूलाई अलमल्याएर सानेपाले निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने भन्दै त्यो कारबाहीको वैधता नरहेको दाबी गरे ।
