काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आफूहरूको कारणले पार्टी नफुट्ने दाबी गरेका छन् । केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभाजन पार्टी र नेपाली जनताको हितमा नहुने बताए ।
उनले भने, ‘विभाजन हितमा छैन । यो हामीलाई राम्रो थाहा छ । त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ सबै पार्टीका साथीहरूलाई एकजुट बनाउन कोसिस गरिराख्या छौँ, कुराकानी भइराखेको छ ।’
एकता जोगाउन आफूहरू पनि लचक रहेको भन्दै महामन्त्रीहरू पनि लचक भएर आउनुपर्ने उनले बताए । महतले भने, ‘उहाँहरू पनि त्यही लचकताका साथ आउनुपर्छ । पार्टी एकताको लागि, आम निर्वाचन मुखमा एकताबद्ध भएर जानको लागि हामी उदारताका साथ प्रस्तुत भइराखेको छौँ । त्यही उदारताका साथ र पार्टी, देश र जनतालाई मध्यनजर राखेर उहाँहरू आउनुपर्छ ।’
