काठमाडौँ । नेपाली कांग्रेसमा ७० प्रतिशत प्रतिनिधिको हस्ताक्षरको पुर्याउने लक्ष्यसहित चलिरहेको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ । तर वार्ता स्थल र समय बताइएको छैन ।
यसका लागि कांग्रेसले संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिएको छ । विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुँदैछन् । विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन् ।
सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका बेला प्रतिनिधिको हस्ताक्षर संख्या बढेपछि सभापति देउवा दबाबमा छन् । आजको बन्द सत्रपछि नेतृत्व छाड्न समेत नैतिकरुपमा पनि दबाब हुने देखिन्छ ।
