काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय थिए। पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताए।
पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको छ। धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भए पनि छलफलहरू हिनतावोधका साथ अघि बढ्नुपरेको उनले बताए। अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठूलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरू लागेको र सफल नभएको जिकिर उनले गरे।
उनले भने, ‘हाम्रा साथीहरूले कुनै ठूलो डिमाण्ड राखेका थिएनन्। पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो। म आफैँ एउटा उपाध्यक्ष तर वरियताक्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ। मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरू केन्द्रीय सदस्यलाई केही हेर्नुपर्छ भनेको थिएँ। ठूलो विषय थिएन। मुख्य मुद्दाका विषयहरू समावेशिता, संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ तर हुन सकेन।
हाम्रा साथीहरूले उठाएका विषयहरूमा सहजरुपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने भन्नेबारेमा धेरै छलफल गर्यौँ।’ पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ। यो बीचमा उज्यालो नेपाल पार्टीले ठूलो क्षति बेहोर्नुपरेको र सहमति भंग भएको रास्वपाले घोषणा गरेको भन्दै आपत्ति जनाएको छ। उनले भने, ‘उहाँहरूले आज आएर एकतर्फी रूपमा सहमति भङ्ग भएको घोषणा गर्नुभयो। हामीले गरेका थिएनौँ। हामी छलफल गरेरै जाऔँ भन्नेमै थियौँ।’ उनले रास्वपासँग भएको सहमतिपछिको १२ दिन आफूहरूको लागि धेरै पीडादायी भएको बताए।
